काठमाडौ:बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएकी चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्कीलाई नेपाल प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले  काठमाडौंको गोकर्णेश्वर–४ बाट उनलाई पक्राउ गरेको हो। 

पक्राउपछि फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
कार्कीविरुद्ध बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

नेपाल राष्ट्र बैंकको जाहेरीअनुसार कार्कीले आफू सञ्चालक रहेको कम्पनीको नाममा बनावटी कागजात तयार गरी हाउजिङ तथा निर्माण परियोजना देखाएर कर्जा स्वीकृत गराएको आरोप थियो। साथै उक्त कर्जा रकम सम्बन्धित परियोजनामा प्रयोग नगरी दुरुपयोग गरेको ठहर अदालतले गरेको थियो।