काठमाडौं - काठमाडौँ उपत्यकासहित  ८२ स्थानमा बर्ड फ्लु देखिएको छ । देशका ११ जिल्लामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर,झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी र कांभ्रेपलाञ्चोकका ८२ स्थानमा बर्ड फ्लु देखिएको विभागका महानिर्देशक डा. उमेश दाहाल जानकारी दिए।

महानिर्देशक दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। 
केही दिनअघि ललितपुरको जावलखेलस्थित सदर चिडियाखानामा समेत बर्ड फ्लु देखापरेपछि अहिले चिडियाखाना बन्द गरिएको छ।

विभागका अनुसार, पछिल्लो समय पाँच लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ। अहिले काठमाडौँ ‘हटस्पट’ बनेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले सचेत गराएको छ।