काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका–७ बस्ने बारा निजगढ नगरपालिका–१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने संखुवासभा चैनपुर नगरपालिका–३ घर भएका ७० वर्षीय बीरबहादुर श्रेष्ठ रहेका छन् । 

पक्राउमध्ये सुरेशलाई टर्की पठाइ दिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बीरबहादुरले बेलायत पठाइ दिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका–१२ बाट र बीरबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइको छ ।