काठमाडौं -  २ करोड ५९ लाख ५० हजार बराबरको ७ हजार ७ सय थान विद्युतीय चुरोट (भेप)सहित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

बाह्रबिसे नगरपालिका-३ खाग्दलबाट सोमबार ७ हजार ७ सय थान विद्युतीय चुरोट (भेप) र बोलेरो गाडीसहित श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। 

‘तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाई छिपाई अवैध रूपमा ल्याउँदै गरेको विभिन्न ब्राण्डका विद्युतीय चुरोटसहित हामीले गाडी र ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएका हौं’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक जेसी शाहले भने।

प्रहरीले गोप्य सूचनाको आधारमा विद्युतीय चुरोटसहित प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी र श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध भेपसहित उनलाई नियन्त्रणमा लिएको थियो। श्रेष्ठलाई बरामद सामानसहित थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।