काठमाडौं - इरानको विश्वकप टोलीले खेलभन्दा एक दिनअघि मात्र यात्रा गर्नुपर्ने र खेल सकिएलगत्तै फर्किनुपर्ने व्यवस्था आफूहरूमाथि अन्यायपूर्ण रूपमा लागू गरिएको बताएको छ।

तर यस्तो तालिका अन्य धेरै टोलीहरूका लागि पनि असामान्य भने होइन।

४८ टोलीहरूले तीन देशका १६ शहरहरूमा खेल खेल्दै गर्दा यात्रा व्यवस्थापन कसरी गरिन्छ भन्ने प्रश्न उठेको छ। इरानलाई युद्धसँग सम्बन्धित कारणले पहिले नै लागू गरिएका नियमहरूको पालना गर्न बाध्य पारिएको थियो, जसबारे ह्वाइट हाउसको फिफा कार्यदलका प्रमुख एन्ड्र्यु जुलियानीले बताएका थिए। यद्यपि ती प्रतिबन्धहरू सामान्य टोली यात्रासम्बन्धी फिफाका निर्देशिकासँग पनि मेल खान्छन्।

“टिम मेल्ली” (इरानको राष्ट्रिय टोली) ले आफ्नो पहिलो खेलका लागि मेक्सिकोको टिजुआना अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलसम्म १२७ माइल (२०४ किलोमिटर) को चार्टर उडान गरेको थियो।

सोमबार न्युजिल्यान्डसँग २–२ को बराबरीमा टुंगिएको उक्त खेलअघि गरिएको यो सामान्यतया छोटो यात्रा टोलीका कप्तान मेहदी तारेमीका अनुसार सुरक्षा जाँच र अध्यागमन प्रक्रियासहित करिब पाँच घण्टा लागेको थियो।

इरानले खेल समाप्त भएपछि तुरुन्तै मेक्सिको फर्किएको थियो। खेल स्थानीय समयअनुसार साँझ करिब ८ बजे सकिएको थियो। टोलीले खेलपछि कम्तीमा एक दिन त्यहीँ बसेर त्यसपछि मात्र यात्रा गर्ने आशा गरेको थियो तर त्यसो गर्न पाएन।

इरान फुटबल महासंघका अनुसार आइतबार बेल्जियमविरुद्ध हुने खेलका लागि टोलीलाई दुई दिनअघि नै लस एन्जलस जान दिने अनुरोध पनि अस्वीकार गरिएको छ। महासंघले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै यस विषयमा फिफासमक्ष औपचारिक उजुरी दर्ता गर्ने जनाएको छ।

विज्ञप्तिमा आइतबारको खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने उल्लेख गर्दै महासंघले भनेको छ कि “यस्ता प्रतिबन्धहरू सबै सहभागी टोलीहरूलाई समान अवस्था उपलब्ध गराउने सिद्धान्तसँग मेल खाँदैनन् र यसले टोलीहरूको तयारी प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्छ।”

इरान फुटबल संघका महासचिव हेदायत मोम्बेइनीले शुक्रबार एक अनुवादकमार्फत भने “विश्वकपमा सहभागी सबै टोलीमध्ये हामी मात्र यस्तो टोली हौँ, जसले आयोजक शहरमा खेलअघि केवल २४ घण्टा बिताउन पाउँछ। यो निष्पक्ष होइन।”

उनले थपे, “हामीमाथि लगाइएका यी सबै सीमितताहरूले खेलाडीहरूको शारीरिक र मानसिक अवस्थामाथि नकारात्मक असर पारिरहेका छन्।”

तर यस विश्वकपमा छोटो दूरीका खेलस्थलहरूका लागि इरानको यात्रा तालिका भने असामान्य मानिँदैन। वास्तवमा फिफाको २०२६ विश्वकप नियमावलीको धारा १८.३ अनुसार, “प्रत्येक टोलीले आफ्नो आधार शिविरबाट खेलस्थलतर्फ खेलको एक दिनअघि यात्रा गर्नुपर्छ र विशेष अवस्थामा दुई दिनअघि जान सक्नेछ। खेल समाप्त भएपछि टोलीले आफ्नो आधार शिविरमा खेलकै दिन वा भोलिपल्ट  फर्किनुपर्छ।”

यसैले इरानले सामना गरिरहेको यात्रा तालिका फिफाका सामान्य नियमहरूसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ यद्यपि इरानले आफूहरूमाथि लागू गरिएका अतिरिक्त सुरक्षा तथा यात्रा प्रतिबन्धहरूलाई अन्यायपूर्ण ठानेको छ।

युद्ध अन्त्यका लागि अन्तरिम सम्झौता भएको भए पनि इरानी टोलीमाथि लगाइएका प्रतिबन्धहरू अझै हटाइएका छैनन्। टोलीका केही अधिकारी तथा सहयोगी कर्मचारीहरूले अमेरिकाको भिसा प्राप्त गर्न सकेका छैनन्। साथै खेलाडी मेहदी तोराबीले पहिलो खेलपछि नयाँ भिसा लिन टिजुआनास्थित अमेरिकी वाणिज्य दूतावास (कन्सुलेट) जानुपरेको थियो।

विश्वकपमा धेरै टोलीहरू आफ्ना खेलहरू हुनुभन्दा एक दिनअघि मात्र आयोजक शहरमा पुगिरहेका छन्। उदाहरणका लागि शुक्रबार अस्ट्रेलियाविरुद्धको समूह चरणको खेलका लागि अमेरिकी टोलीले बिहीबार क्यालिफोर्नियाको अरेन्ज काउन्टीस्थित आफ्नो आधार शिविरबाट सिएटलसम्म करिब ९८० माइल (१,५८० किलोमिटर) यात्रा गरेको थियो।

खेलपछि टोली पुनः लागुना निगुएलस्थित होटलमा फर्किने योजनामा थियो।

यसअघि केही कन्काकाफ राष्ट्रहरूले मेक्सिको सिटीमा हुने विश्वकप छनोट खेलहरूका लागि पनि खेलभन्दा एक दिनअघि मात्र पुग्ने रणनीति अपनाएका थिए। खेल विज्ञानका विज्ञहरूका अनुसार त्यहाँको उच्च उचाइ (altitude) मा छोटो समयमै शरीर अभ्यस्त हुन नसक्ने भएकाले खेल सुरु हुनुअघि सकेसम्म ढिलो पुग्नु लाभदायक मानिन्छ।

यस विश्वकपको समूह चरणमा सबैभन्दा लामो यात्रा भने बोस्निया र हर्जगोभिनाले गरिरहेको छ। “ड्र्यागन्स” उपनामले चिनिने उक्त टोलीले समूह चरणमा कुल ५,८७८ माइल (९,४६० किलोमिटर) यात्रा गर्नुपर्ने भएको छ। टोलीले साल्ट लेक सिटीदेखि टोरन्टवसम्म करिब १,६६० माइल (२,६७० किलोमिटर) एकतर्फी उडान गरेको थियो। त्यसपछि लस एन्जलससम्म ५९० माइल (९५० किलोमिटर) र  सिअटलसम्म ६९० माइल (१,११० किलोमिटर) यात्रा गर्नुपर्ने तालिका रहेको छ।
बोस्निया र हर्जगोभिनालेको यात्रा दूरी लामो भए पनि यो सन् २०१४ को दौरानमा अमेरिकी टोलीले गरेको यात्राभन्दा निकै कम हो। त्यस विश्वकपमा ३२ राष्ट्रमध्ये अमेरिकाले सबैभन्दा धेरै, करिब ९,००० माइल (१४,४८४ किलोमिटर) यात्रा गरेको थियो।

अमेरिकी टोलीले आफ्नो आधार शिविर रहेको साओ पाउलोबाट पहिलो खेलअघि लाटलसम्म १,४३६ माइल (२,३११ किलोमिटर) यात्रा गरेको थियो। घाना विरुद्धको उद्घाटन खेल हुनुभन्दा तीन दिनअघि टोली त्यहाँ पुगेको थियो।

त्यसपछि पोर्चुगल विरुद्धको खेलका लागि टोलीले खेलभन्दा दुई दिनअघि मानाउस सम्म १,८३२ माइल (२,९४८ किलोमिटर) यात्रा गरेको थियो। साथै  जर्मनी विरुद्धको खेलअघि दुई दिनअघि नै रेसिफीसम्म १,३२१ माइल (२,१२६ किलोमिटर) को यात्रा गरेको थियो।

यसको विपरीत, चार वर्षअघि २०२२ विश्वकपमा  सबै खेल मैदानहरू कतारको राजधानी क्षेत्रबाट ३१ माइल (५० किलोमिटर) भित्रै रहेका थिए। त्यसैले टोलीहरूले प्रतियोगिताभर एउटै होटलमा बसेर सबै खेल खेल्न सकेका थिए, जसले यात्रा सम्बन्धी थकान र व्यवस्थापनलाई निकै सहज बनाएको थियो।