काठमाडौं - झापा र इलामका ८० भन्दा बढी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वी नेपालका चिया उत्पादक क्षेत्र गम्भीर संकटमा परेका छन्। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।
उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, किसान तथा चिया उत्पादक परिवारको रोजीरोटी संकटमा परेको छ। चिया प्रशोधन, संकलन तथा निर्यात गतिविधि ठप्पजस्तै बनेपछि उत्पादित चियाको बजार व्यवस्थापनमा समेत समस्या देखिएको छ।
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार सक्रिय रूपमा लागिरहेको बताइन्। उनका अनुसार समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल तथा आवश्यक संवाद अघि बढाइएको छ।
सरकारले चिया निर्यातमा देखिएको अवरोध छिट्टै खुल्ने अपेक्षा व्यक्त गरे पनि उद्योगी तथा किसानहरूले समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन्। निर्यात अवरुद्ध रहिरहे चिया क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने र हजारौं श्रमिकको जीविकोपार्जन थप जोखिममा पर्नेछ।


0 comment