काठमाडौं - बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जना मृतकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टका अनुसार मृत्यु  हुनेमा रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, वडा–६ का ७५ वर्षीय सवारी धनी ईन्द्रबहादुर झाक्री, वडा-८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका ३० वर्षीय नेपाली सेनाका अमल्दार बमबहादुर भण्डारी रहेका छन् । मृतक अन्य चार जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते अधिकांशको टाउको, गर्धन, छातीमा चोट रहेको धुलिखेल अस्पतालले जनाएको छ । घाइतेहरुको श्रीमेहर गण धुलिखेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वार्टर पाँचखालका विपद् तालिम प्राप्त सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको थियो ।

बनेपाबाट रोसी गाउँपालिका–६ सुँगुरे जाँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ८३९८ नम्बर बस शुक्रबार दिउँसो २:१५ बजे  सेल्फीडाँडामा दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन, अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।