काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधान संशोधनका लागि राय–सुझाव माग गरेको छ । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ को सचिवालय सिंहदरबारले एक सूचना जारी गर्दै संविधान संशोधनका लागि आफ्नो राय–सुझाव दिन आम सर्वसाधरण नागरिकलाई आग्रह गरेको हो ।
सचिवालयका सदस्य सचिव लिलाधर सुवेदीको हस्ताक्षर रहेको सूचनामा कार्यदलको गत बैसाख १० गतेको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिशिचत गर्न लिखित सुझाव संकलन गर्ने निर्णय गरेको हुँदा नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनबारे राय–सुझाव दिन आग्रह गरिएको छ । संविधान संशोधनसम्बन्धी राय–सुझाव सात दिनभित्र ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ को सचिवालय सिंहदरबारलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको २०८२ चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ गठन गरिएको थियो ।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम सँस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट एक–एक जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कानुन सचिव, नेपाल कानुन आयोगका सदस्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सदस्य सचिव प्रतिनिधि रहेका छन् ।
कार्यदलले संविधान संशोधनका विषयमा राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि, जेनजी अगुवालगायतसँगै छलफल र सुझाव संकलन गर्दै आएको छ ।


0 comment