काठमाडौं -  भक्तपुर अस्पतालले न्यूनत्तम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ । यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन सफल भक्तपुर अस्पतालले यस पटक अझ अंक बढाउँदै ९३ अंकसहित सर्वोत्कृष्टता कायम राखेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको टिमले ३ दिन लगाएर गरेको मूल्यांकनको नतिजा सार्वजनिक भएसँगै भक्तपुर अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताए । 

मूल्यांकन समिति सदस्य रहेकी नर्सिङ्ग अधिकारी बिमला बरालले एक सयदेखि तीन सय बेडसम्मका अस्पताललाई सेकेण्डरी बी लेभलमा राखेर न्यूनत्तम सेवा मापदण्ड तोकिएको र त्यसैको आधारमा सेवा कार्यान्वयनको अवस्था मूल्यांकन गरिएको जानकारी गराइन् । यो लेभलका अस्पताल बागमती प्रदेश अन्तर्गत ६ वटा र देशैभर कूल ५२ वटा रहेको बरालले बताइन् । 

मूल्यांकन समिति संयोजक डा. त्रिभुवनचन्द्र झाका अनुसार न्यूनत्तम सेवा मापदण्ड मूल्यांकनमा मुख्यतः अस्पतालको व्यवस्थापन, मानव श्रोतको उपलब्धता, भौतिक पूर्वाधार, औषधि तथा उपकरणको अवस्था,  विरामीको उपचार व्यवस्थापन, संक्रमण रोकथाम र सरफाइ त्यसैगरी प्राविधिक सेवा, आर्थिक पारदर्शिता र समुदायको सहभागिता लगायतको मूल्यांकन गरिन्छ ।

बागमती प्रदेश मातहतको भक्तपुर अस्पताल देशैभरका सेकेण्डरी बी लेभलको अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन सफल भएको भन्दै स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झाले सन्तोष व्यक्त गरेका छन् । भक्तपुर अस्पतालको नेतृत्व सम्हालिसकेकी प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुरबाट अन्य अस्पतालले समेत सिक्नुपर्ने उनको बताएकी छन् ।

देशैभरका ३ सय शैयासम्मका सबै अस्पताललाई पछि पार्दै भक्तपुर निरन्तर सेवा प्रवाहमा अब्बल सावित हुनु सन्तोषजनक रहेको र यो सामूहिक प्रयासले सम्भव भएको अस्पाताल बिकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रतिक्रिया दिए ।  अब अस्पतालमा मुटु र न्युरो सम्बन्धी उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

भक्तपुर अस्पताल वीर अस्पतालपछि स्थापित देशकै दोश्रो जेठो अस्पताल हो । संघीयता अघिसम्म रिफर सेन्टरका रुपमा बद्नाम यो अस्पताल बागमती प्रदेश सरकार मातहत सञ्चालनमा आएपछि भने निरन्तर बिकास भइरहेको देखिन्छ । हाल अस्पतालमा दैनिक औसत १ हजार २ सय बिरामीले स्वास्थ्य सेवा लिइरहेका छन् ।