काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन नेकपा एमाले नेतृत्वलाई आग्रह गरेकी छन्। आइतबार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभामा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मसुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने बताइन्।

उनले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिने गरेको उल्लेख गर्दै त्यसले समाजमा प्रश्न उठाउने परिस्थिति सिर्जना भएको बताइन्। यस्तो अवस्था अन्त्य गर्न जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिइन्।

“विगतका उपलब्धिसँगै वर्तमानका चुनौतीप्रति पनि हामी गम्भीर हुन आवश्यक छ,” उनले भनिन्, “जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो। यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ। त्यसैले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ।”

पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै अब जनताको सेवामा अझ बढी केन्द्रित हुनुपर्ने बताइन्।

उनले नेता तथा कार्यकर्तालाई जनताको सुखदुःखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुन पनि आग्रह गरिन्। एमालेले पार्टी सदस्यता रोक्ने निर्णय गरेयता पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पहिलोपटक प्रमुख अतिथिका रूपमा पार्टी कार्यक्रममा सहभागी गराएको हो।

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

पूर्वराष्ट्रपति भण्डारीका पति तथा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको ३३ वर्ष पुगेको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो।