काठमाडौं - चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् ।
उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तिनै जना एकै परिवारका हुन् ।
आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरू घटनाबारे थाहा पाएका थिए । बिरामी परेकामध्ये अहिले १२ वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचारमा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिए।
डा प्रमोद पौडेलका अनुसार जङ्गली च्याउमा एमेनिटा भन्ने बिष हुन्छ । यसले कलेजोमा असर गर्छ र केलेजो फेल हुने समस्या हुन्छ । विस्तारै दिमागमा असर गर्ने, बेहोस हुने, मिर्गौलामा पनि असर गर्ने हुँदा बिरामीको मृत्यु हुने गरेको छ ।


0 comment