काठमाडौं : अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुऱ्याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक वडा अध्यक्ष पक्राउ परेका छन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई कास्कीको पोखराबाट पक्राउ गरेको हो। थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए।सोही योजनाअनुसार २०७८ वैशाख ११ गते उनले पीडितलाई काठमाडौँबाट दुबई पुऱ्याएर एक महिनासम्म होटलमा राखेका थिए।

दुबईमा रहँदा भिसा प्रक्रियाका लागि भन्दै एजेन्टमार्फत पीडितको पासपोर्ट, फोटो र ८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लिएर भिजिट भिसा तयार गरिएको थियो। त्यसपछि पी'डितलाई बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुऱ्याइएको थियो।

कोलम्बियामा एक वर्षसम्म बन्धक बनाएर राखेका थिए ।सोहि क्रममा पीडितमाथि शारीरिक तथा मानसिक यातना दिनुका साथै ज बरजस्तीकरणी समेत भएको ब्यूरोले जनाएको छ।

पीडितले आफूलाई नेपाल फर्काइदिन आग्रह गर्दा प्रतिवादी थापाले उल्टै थप रकम माग गरेका थिए। ज्यान जोगाउन पीडितले अमेरिकामा रहेका साथीमार्फत थापाले उपलब्ध गराएका विभिन्न बैंक खाता र वेस्टर्न युनियनमार्फत पटक-पटक गरी ८८ हजार ८०० अमेरिकी डलर बुझाएकी थिइन्। 

रकम पाएपछि थापाले आफ्ना एजेन्टमार्फत पी'डितलाई कोलम्बियाबाट पानामाको जङ्गल हुँदै मेक्सिकोको बोर्डरसम्म पुऱ्याउन लगाएका थिए। त्यहाँ पुगेपछि पुनः २० हजार डलर माग गरिएको र सो रकम दिन नसक्दा एजेन्टहरूले पीडितलाई मेक्सिकोमै अलपत्र छाडेर सम्पर्कविहीन भएका थिए।

अलपत्र परेकी पीडितले अमेरिकामा रहेका आफन्त र अमेरिकास्थित नेपाली राजदूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर २०८३ वैशाख २ गते नेपाल फर्कन सफल भएकी हुन्। 

नेपाल आएर दिएको उजुरीका आधारमा ब्यूरोको टोलीले थापालाई २०८३ वैशाख २८ गते पोखराबाट पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण पगेनिले जानकारी दिनु भयो।