काठमाडौं— बालश्रम अन्त्यका लागि इँट्टा उद्योगमा काम गर्ने कामदार नाइके र कर्मचारीसँग छलफल कार्यक्रमम भएको छ । सो छलफल कार्यक्रममा श्रम तथा रोजगार कार्यालय टेकुका कार्यालय प्रमुख उदय कुमार गुप्ताले बालश्रम निवारणमा नीतिगत व्यवस्था के छ ? र बालश्रम सम्बन्धी ऐन कार्यान्वयनमा स्थानीय तहको भूमिका के हुने ? भन्ने सम्बन्धमा सहजिकरण गर्नु भएको थियो । छलफल कार्यक्रममा बालश्रम प्रयोग गर्न नहुने सवाल र उद्योगमा काम गर्ने कामदारहरुको अधिकार संरक्षणका लागि ऐन नीतिले गरेको व्यवस्था लगायतका विषयमा गम्भीर रुपमा छलफल गरिएको थियो । विशेषगरी कामदारलाई उद्योगमा काम गर्दा अपनाउनु पर्ने व्यवसायजन्य स्वास्थ्य सुरक्षाका बारेमा पनि जिज्ञासा सहितको छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष सागर तुलाधरले ललितपुर महानगरपालिका वाड नं २२ ले वडालाई बालश्रम मुक्त वडा बनाउनका तिब्र रुपमा अभियान चलाइरहेको र सो अभियानलाई सार्थक रुप दिनका लागि बाल विकास समाज वल्र्ड भिजन इन्टरनेसनल नेपालको हरपल साथ र सहयोग रहेको कुरा बताउनु भएको थियो । बालश्रम निवारण गर्न वडा अथवा कुनै सरोकार राख्ने संस्थाको मात्रै जिम्मेवारी नभएर यस वडामा रहेका वडावासी समुदाय नागरिक समाज राजनैतिक दल सरोकार राख्ने सबै पक्षको महत्वपूर्ण जिम्मेवारी रहेको कुरा पनि औल्याउनु भएको थियो । त्यसैगरी वडा क्षेत्रमा रहेका विभिन्न उद्योग कारखाना ज्यारेज सबैले बालश्रम प्रयोग गर्नु सामाजिक अपराध हो भन्ने कुरा मनन गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यसैगरी छलफल कार्यक्रममा बाल विकास समाजका कार्यक्रम व्यवस्थापक प्रदिप श्रेष्ठ र वल्र्ड भिजन इन्टरनेसनल नेपालका परियोजना विशेषज्ञ भरत तामाङ्गले पनि संक्षीप्त मन्तव्य राख्दै बालश्रम प्रयोग निषेधका लागि सवै पक्ष एक हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो । यो छलफलबाट वडाक्षेत्रमा सञ्चालनमा रहेका उद्योग कारखानाहरुमा बालश्रम प्रयोग गर्न नहुने कुरामा सरोकारवाला पक्ष सचेत हुने अपेक्षा गरिएको छ । देशैभरी करिब १२ सयको संख्यामा इँट्टा उद्योगहरु सञ्चालनमा रहेका छन ।

0 comment