संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन, आचरण तथा राजनीतिक तटस्थतासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो।

सूचनामा नेपालको संविधान तथा निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै पनि निजामती कर्मचारी राजनीतिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

मन्त्रालयका अनुसार निजामती कर्मचारी कुनै राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध हुन, सदस्यता लिन तथा राजनीतिक गतिविधिमा सहभागी हुन पाउने छैनन्। साथै राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा समेत कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।

सूचनामा राजनीतिक दल वा त्यससँग सम्बन्धित संगठनमा आबद्ध हुने, राजनीतिक गतिविधिमा सहभागी हुने तथा संगठनको सदस्यता लिने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

मन्त्रालयले निजामती सेवाको मर्यादा, निष्पक्षता र सुशासन कायम राख्न सबै कर्मचारीलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ।