काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन् ।

कुल २ लाख ८४ हजार १६० जना विद्यार्थीहरू ग्रेड प्राप्त भएका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू ‘नन-ग्रेडिङ’ मा परेका परीक्षा बोर्डले जनाएको छ।

सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन् ।

३.६० देखि ४ जीपीएसम्म ल्याउने ४८३९२ जना छन् ।

बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस,आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।

त्यस्तै नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।