काठमाडौं - वायुको गुणस्तर अत्यधिक खस्किँदा काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ। वायु गुणस्तर मापन गर्ने संस्था एयर आइक्यूका अनुसार हाल काठमाडौं प्रदूषणको हिसाबले विश्वकै शीर्ष स्थानमा रहेको छ भने भारतको नयाँ दिल्ली दोस्रो स्थानमा परेको छ।

पश्चिमी वायु प्रणाली तथा स्थानीय प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको मौसम देखिएको छ। काठमाडौंमा बिहानीपख हल्का वर्षा भए पनि त्यसपछि आकाश पुनः धुम्मिएको छ, जसले प्रदूषणको स्तर अझै उच्च रहेको संकेत गर्दछ।

वायु प्रदूषणका कारण दृश्यता (भिजिबिलिटी) कमजोर बन्दा बिहानपख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउँदै गरेका तीन अन्तर्राष्ट्रिय उडानसहित केही आन्तरिक उडानहरू डाइभर्ट गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ।

हालको अवस्थाले जनस्वास्थ्यमा समेत असर पार्ने देखिएकाले सरोकारवालाहरूले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।