काठमाडौं - वैशाख १७ गतेलाई डाकिएको संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्थगित गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यसअघि बोलाएको संसद् अधिवेशन स्थगित गरेको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

सरकारकै सिफारिसमा वैशाख ९ गते राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम १७ बैशाखमा बिहीबारका दिउँसो १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ :०० बजे संघीय संसद् भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसद्को दुवै सदनको उक्त अधिवेशन आहृवान हाललाई स्थगित गर्नु भएको छ ,’ उक्त विज्ञप्तिमा उल्लेख छ ।