काठमाडौं - प्रतिनिधिसभा सदस्यहरुलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ । बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरुसंग प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी दिने विषयमा वर्तमान कानुनी व्यवस्थाका बारेमा छलफल गरेका हुन् । 

सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपनि कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खश्बु ओलीले बताइन् । ऐन र नियम कानुनभन्दा माथि बाहिर गएर भन्दा पनि विद्यमान कानुनी व्यवस्थालाई नै परिमार्जित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन् ।

राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कूटनीतिक राहदानी पाउने व्यवस्था छ । तर सांसदहरु विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा अहिलेको नियमावली अनुसार कूटनीतिक राहदानी दिन नमिल्ने देखिएपछि त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेबारे रायसल्लाह लिने काम भएको उनको भनाइ छ ।

उनले सभामुख र दलका प्रतिनिधिबीच भएको छलफला बारेमा आ–आफ्ना दलमा छलफल गर्ने र पुनः सभामुखसँग छलफल गर्ने सहमति भएको धारणा राखे । राप्रपा प्रमुख सचेतक ओलीले संसद सञ्चालन र सांसदहरुको समस्याका बारेमा सभामुखले निकै सकारात्मक भूमिका खेलिरहेको प्रतिक्रिया समेत दिए ।