काठमाडौं - राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।

काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल निगममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । 

प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो । प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरुले प्रहरी दमन मुर्दाबाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगाएतका नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 

राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले आफूहरु समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउँदा प्रहरीले हस्तक्षेप गरेको बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति वर्तमान सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्याधिक मूल्यवृद्धि गरिएकोप्रति आपत्ति समेत जनाए । युवाहरुले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।