काठमाडौ: जिल्ला प्रहरी परिसर काठमाडौंले घरमा कोठा भाडा लगाउँदा अनिवार्य रूपमा डेरा बस्ने व्यक्तिको पुलिस क्लियरेन्स रिपोर्ट माग्न घरबेटीलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसरका काठमाडौका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले यो अनुरोध गर्दै अपराध अनुसन्धानमा देखिएको ठूलो समस्या सम्बोधन गर्न खोजिएको स्पष्ट पार्नु भयो ।
प्रहरीका अनुसार पछिल्लो समय काठमाडौंमा विभिन्न घटनाहरूमा अनुसन्धान गर्दा डेरा बस्ने व्यक्तिको कुनै पनि आधारभूत जानकारी नहुँदा ठूलो कठिनाइ भइरहेको छ । एसपी भट्टराईका अनुसार १० वर्षसम्म एउटै घरमा भाडा बसेका व्यक्तिको समेत घरबेटीसँग मोबाइल नम्बर, स्थायी ठेगाना, फोटो वा अन्य विवरण हुँदैन ।
घटना भएपछि प्रहरीले खोजी गर्दा अत्तोपत्तो नै नहुने अवस्था छ । यसले अपराध त रोकिँदैन, तर अपराध भएपछि छिटो र प्रभावकारी रूपमा रेस्पोन्स दिन र अनुसन्धान गर्न भने निकै सहयोग पुग्ने प्रहरीको भनाइ छ।
प्रहरी परिसरले घरबेटीलाई डेरा बस्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, फोटो, सम्पर्क नम्बर र सम्भव भएसम्म पुलिस क्लियरेन्स रिपोर्ट राख्न आग्रह गरेको छ । यो अनुरोध बाध्यकारी कानुनी व्यवस्था नभए पनि अपराध नियन्त्रण र छिटो अनुसन्धानका लागि व्यावहारिक सहयोग हुने प्रहरीको भनाइ छ । काठमाडौं जस्तो घना बसोबास भएको शहरमा बसाइँसराइ उच्च छ र धेरै घटनामा डेरावालाको पहिचान गर्न महिनौं लाग्ने गरेको प्रहरीको अनुभव छ ।
यो कदमले अपराधीहरूलाई डेरा लिएर लुक्ने वातावरण घटाउने र पीडितलाई न्याय दिलाउन सजिलो हुने प्रहरीको विश्वास छ । प्रहरीले घरबेटीहरूलाई सहयोग गर्न आह्वान गर्दै आवश्यक परे थप विवरणका लागि परिसरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।



0 comment