काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो संलग्नतालाई सकारात्मक र उत्साहजनक भएको बताएका छन्। नयाँ वर्ष २०८३ को अवसरमा सोमबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै उनले शिक्षित, देशबुझेका तथा आधुनिक प्रविधिमा दक्ष युवाहरूको आगमनले राष्ट्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

“राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो,” उनले भने, “पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनेछ।”

विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति आलोचनात्मक रहँदै आएका शाह यसपटक भने नयाँ पुस्ता र नेतृत्वप्रति आशावादी देखिएका छन्। विशेषगरी प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति उनले नरम र सकारात्मक संकेत दिएका हुन्।

यससँगै उनले विगतका वर्षहरूमा देशको विकास अपेक्षाअनुसार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार राजनीतिक परिवर्तनहरू प्रायः सतही मात्र भएको र दलीय खिचातानीका कारण राष्ट्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे।

शाहले नयाँ नेतृत्वलाई आर्थिक अवस्था सुदृढ पार्न, छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन र आन्तरिक सुरक्षा मजबुत बनाउन सुझाव दिएका छन्। साथै, उनले देशलाई परनिर्भरता र पराधीनताबाट जोगाउँदै आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिए।

उनले आपसी द्वेष र प्रतिशोधको राजनीति त्यागेर जनचाहनाअनुसार काम गर्न आग्रह गर्दै सबै नेपालीले न्याय, शान्ति र समृद्धि पाउने वातावरण निर्माण गर्नुपर्ने बताए। साथै, देशको मौलिक पहिचान जोगाउनु वर्तमान समयको प्रमुख दायित्व भएको उनको भनाइ छ।