काठमाडौं - सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा सात ठाउँमा गरी करिब रु साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले काठमाडौँ, मोरङ र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । साथै २५ तोला सुन, सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री पोखरेलले आफ्नो बैंक खातामा चार लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् । डलर खातामा अमेरिकी डलर पाँच रहेको उल्लेख छ । उनले बुबा रमेशकुमार पोखरेललगायत परिवारका सदस्यहरूका नाममा पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका सेयर करिब ३० लाख रुपैयाँबराबर रहेको उल्लेख गरेका छन् । बुबा रमेशकुमारकै राष्ट्रिय बचतपत्रमा ९६ लाख ९० हजार रुपैयाँबराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा प्राप्त रकमले सेयर खरिद गरेको उल्लेख छ । आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचतपत्रमा ५० लाख रुपैयाँ बराबरको सेयर रहेको देखाइएको छ ।
मन्त्री पोखरेलले आफू र आमा मीनाक्षीको नाममा ७५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन्। हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माछापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख रुपैयाँ कर्जा रहेको विवरणमा जनाइएको छ । साथै बुबा र आफ्नो नाममा दुईवटा सवारीसाधन रहेको जनाएका छन् । सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।


0 comment