काठमाडौं - असनको मौलिकतालाई जोगाउन भन्दै नयाँ वर्षदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधनलाई प्रवेश निषेध गरिने भएको छ । काठमाडौं  महानगरपालिकाले वैशाख ५ देखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने  निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले  यस्तो निर्णय गरेको हो ।

आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने कार्यवाहक प्रमुख डंगोलको भनाइ थियो । असनमा सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने सरसामान खरिद गर्न पाइन्छ ।

‘भेहिकल  फ्री असन’ कार्यक्रमअन्तर्गत कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक सवारी साधन प्रवेशमा रोक लगाइनेछ ।