काठमाडौं - कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले दोहोरो सुविधा लिएको आरोपपछि ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेपछि उनले उक्त रकम निवृत्तिभरण व्यवस्थापन कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरेका हुन्।
सचिवालयका अनुसार बुढाथोकीले २०८१ असारसम्म तलब, भत्ता तथा अन्य सुविधाहरू दोहोरो रूपमा बुझेका थिए, जसपछि २०८१ साउनदेखि उनको खाता रोक्का गरिएको थियो। उनले २०८२ जेठ १४ गते रकम फिर्ता गरेका हुन्।
२०७६ जेठ १२ मा पहिलो पटक र २०८१ जेठ १३ मा दोस्रो पटक सचिव नियुक्त भएका बुढाथोकी अहिले तेस्रो पटक नियुक्तिको प्रयासमा रहेको चर्चा छ। उनको कार्यकालमा निजी सचिवमा आफ्नै श्रीमती नियुक्त गरेर तलब भुक्तानी गरेको विषयले समेत आलोचना खेप्नुपरेको थियो।
यता, प्रदेशसभाका कर्मचारीहरूले कार्यालयका गतिविधि गोप्य राखिने गरेको गुनासो गरेका छन्। आवश्यक कागजातसमेत कर्मचारीहरूसँग साझा नगरी सचिवले आफैं अख्तियारमा पठाउने र जवाफ दिने गरेको आरोप छ।


0 comment