सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गरेको आरोपमा विराटनगर महानगरपालिका वडा नम्वर ६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार पक्राउ परेका छन्।
विराटनगर ४ स्थित यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्ने स्वर्णकारले एक सेवाग्राहीको को ३१ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लु बुक नवीकरण गर्ने क्रममा सरकारी राजस्व नतिरी आफैँले नक्कली छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो। प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा अन्य विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला पारेको छ।
हाल उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालाले जानकारी दिनु भयो।
कोही कसैले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएको भए ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ।



0 comment