काठमाडौं - इरानले शुक्रबार अलग अलग आक्रमणमा दुई वटा अमेरिकी सैन्य विमान खसालेको जनाएको छ। यस घटनामा एक सैनिक सदस्यलाई उद्धार गरिएको छ भने कम्तीमा एक जना अझै हराइरहेका छन्।
इरानमा अमेरिकी लडाकु विमान खसालिएपछि एक हराइरहेका पाइलटको खोजीका लागि अमेरिकी सेनाले अभियान चलाइरहेको अमेरिकी मिडियाले जनाएको छ।
करिब पाँच हप्तादेखि जारी युद्धपछि यो घटनालाई ठूलो तनाववृद्धिको रूपमा हेरिएको छ। यसअघि अमेरिकी विमानहरू यस द्वन्द्वमा खसालिएका थिएनन्। यो घटना त्यतिबेला आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनअघि राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकाले “इरानलाई पूर्ण रूपमा पराजित र ध्वस्त बनाएको” दाबी गर्दै “अब बाँकी काम छिट्टै सकिने” बताएका थिए।
अधिकारीहरूका अनुसार, एक लडाकु विमान इरानभित्र खसालिएको हो। उक्त विमानका एक अमेरिकी चालकदल सदस्यलाई उद्धार गरिएको छ भने अर्को सदस्य हराइरहेका छन्। हराइरहेका सदस्यको खोजीका लागि अमेरिकी सेनाले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। यद्यपि, ह्वाइट हाउस वा पेन्टागनले खसालिएका विमानबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएका छैनन्।
इरानी सञ्चारमाध्यमले विमान खसालिएको खबर दिँदै गर्दा तेहरानमा विस्फोट भएको र इरानले क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको पनि जनाइएको छ। ती आक्रमणका क्रममा कुवेतको मीना अल-अहमदी तेल रिफाइनरीमा आगलागी भएको र एक जल शुद्धीकरण (डिसालिनेशन) प्लान्टमा क्षति पुगेको बताइएको छ। यस्ता प्लान्टहरूले खाडी क्षेत्रका देशहरूमा अधिकांश पिउने पानी आपूर्ति गर्ने भएकाले तिनीहरू प्रमुख निशाना बन्न थालेका छन्।
यसअघि बिहीबार अमेरिकाले निर्माणाधीन एक महत्वपूर्ण इरानी पुलमा गरेको आक्रमणमा पर्सियन नयाँ वर्षको समापन मनाइरहेका आठ जनाको मृत्यु भएको थियो। इरानले उक्त आक्रमणलाई नागरिक संरचनामाथिको हमला भन्दै विरोध गरेको छ भने ट्रम्पले पुल भत्किएकोमा खुसी व्यक्त गर्दै “अझ धेरै हुने छ” भनी चेतावनी दिएका छन्।
यसैबीच, ट्रम्पले अमेरिकी संसदसँग रक्षा खर्च बढाएर १.५ ट्रिलियन डलर पुर्याउन अनुरोध गरेका छन्, जुन पछिल्ला दशकहरूमध्ये सबैभन्दा ठूलो माग मानिएको छ।
यसैबीच तेहरान तथा सिरियालगायत विभिन्न क्षेत्रमा लगातार आक्रमणको आवाज सुनिने क्रम जारी छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली आक्रमणहरूले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरिसकेको दाबी गरेका छन् र इजरायल तथा अमेरिकाले इरानलाई पुर्ण रूपमा दबाउने अभियान जारी राख्ने बताएका छन्।



0 comment