आज दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। केहीबेरमै, सुधन गुरुङको प्रबेश भएको थियो।

सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता सुरु भयो- प्रहरीको एक टुकडीले  सलामी अर्पण गरेको थियो। 

सलामी ग्रहणपछि गृहमन्त्रीले उच्च अधिकृतहरूसँग छोटो भेटघाट गर्नु भयो। सलामी ग्र्हण पछि गृहमन्त्री गुरुङ्ग विभिन्न शाखाहरूको।निरीक्षण गर्नु भएको थियो। साथै अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्म, प्रत्येक कक्षमा  उत्साह पुर्वक निरीक्षण गर्नु भएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै  आफ्ना विगतका अनुभव सम्झिए-तल्लो दर्जाका प्रहरीसँग काम गर्दा भोगेका अभाव, चिउरा र चाउचाउको भरमा ड्यूटी गर्नुपर्ने अवस्था, सीमित स्रोतसाधनमा ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो।

उनको स्पष्ट भनाइ थियो- अब यस्तो अवस्था बदलिनेछ। सरकार, पार्टी वा गृह मन्त्रालयबाट अनावश्यक हस्तक्षेप नहुने, कसैले गलत कामका लागि दबाब दिए सिधै आफूलाई जानकारी दिन आग्रह गर्दै उनले 'आफ्नै पार्टीका भए पनि नछोड्ने' चेतावनी दिनु भयो।

 प्रहरी–नागरिक सम्बन्धलाई 'मामा–भान्जा' जस्तो आत्मीय बनाउनुपर्ने बताउनु भयो। 'Respect goes mutual' भन्दै, सम्मान दुवैतर्फबाट हुनुपर्ने र अपमान सहन नहुने स्पष्ट पार्नु भयो। प्रहरीको बोली व्यवहार सुधार, 'service with smile' को अभ्यास, र नागरिकसँगको व्यवहारमै परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिनु भयो।

गुरुङले प्रहरीलाई आधुनिक र जिम्मेवार बनाउने योजनासमेत अघि सार्नु भयो- प्रहरी गाडीलाई आपतकालीन अवस्थामा एम्बुलेन्सको रूपमा प्रयोग गर्ने, मेडिकल फर्स्ट रिस्पोन्डर तालिम दिने, ड्रोनमार्फत टियर ग्यास प्रयोग गर्ने, र दंगा नियन्त्रणमा आवश्यक सुरक्षा सामग्री बिना प्रहरी नपठाउने समेत बताउनु भयो।

VIP/VVIP सवारीमा ट्राफिक रोकेर नागरिकलाई दुःख नदिनुपर्ने, बढुवा र सरुवा कार्यसम्पादनकै आधारमा हुने, पहुँच र सिफारिसको अन्त्य हुने उनले स्पष्ट पार्नुभयो।

प्रहरीको मनोबल बढाउन उनले रासन वृद्धि, राम्रो पोशाक, स्थानीय स्तरमै उत्पादन गर्ने योजना, र प्रविधिमैत्री उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तपाईंहरू जनताको लागि लड्नुस्, म तपाईंहरूको साथमा छु,'भन्दै उनले तल्ला तहका प्रहरीका लागि आफ्नो ढोका खुला रहने आश्वासन दिनु भयो।

कार्यक्रमकै क्रममा आइजीपी दान बहादुर कार्कीले प्रहरी संगठनभित्र बढ्दो जागिर छोड्ने समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै त्यसको समाधान तत्काल आवश्यक रहेको बताउनु भयो।
साथै संगठनलाई टिकाइराख्न २० वर्षे सेवा अवधिको पुनरावलोकन गर्नुपर्ने, सेवा–सुविधा बढाउनुपर्ने र १६ वर्षमै पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्नु भयो।

यही क्रममा, आफ्नो कुरा राख्दै जाँदा उनी एकाएक भावुक बन्नु भएको थियो।
'मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो भन्दै उहाँ  केही क्षणका लागि स्तब्ध हुनुभयो।

उहाको आँखा रसाए-आवाज भारी भयो।त्यो दृश्यले उपस्थित सबैलाई झस्कायो।
त्यसैबेला, एक अप्रत्याशित  गृहमन्त्री गुरुङ आफैँ सिटबाट उठे।आइजीको सम्बोधनबाट प्रभावित हुँदै उनले ताली बजाउन सुरु गर्नु भयो।

त्यसपछि उहाँले हलमा उपस्थित सबै प्रहरीलाई पनि उठ्न संकेत गर्दै भने- समर्थन गर्नुस्।
केही क्षणमै, सम्पूर्ण हल उभिएर तालीले गुञ्जिएको थियो।
त्यो ताली केवल औपचारिक थिएन- त्यो समर्थन, भावना र पीडाको प्रतिध्वनि जस्तो थियो।