काठमाडौं - नेपाली काँग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।

सभापति थापाले प्रतिनिधिसभा चुनावमा अप्रत्याशित पराजय व्यहोरेपछि पराजयको जिम्मेवारी लिँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिएका हुन् ।

उनले उपसभापति विश्व प्रकाश शर्मा समक्ष राजीनामा बुझाएको बुझिएको छ ।

शुक्रबारको केन्द्रीय समितिको बैठकमा यस बारे छलफल हुनेछ। फागुन २१ गतेको निर्वाचनमा  उनी लगायत  पदाधिकारी पराजित भएका थिए।

प्रवक्ता देवराज चालिसेले भने सभापति गगन थापाले राजीनामा दिएको चर्चा बाहिर आए पनि औपचारिक रूपमा आइनसकेको बताएका छन्। सभापति थापा निर्वाचनमा पराजय व्यहोरेपछि निर्वाचन लगत्तै नै राजीनामा दिने मनस्थितिमा थिए । 

नेपाली काँग्रेसको विधानमा सभापतिले राजीनामा दिनुपर्ने भएमा उपसभापतिलाई दिनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ।

प्रवक्ता चालिसेले अनौपचारिक रूपमा राजीनामा दिएको भए शुक्रबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस भएपछि बल्ल जानकारी हुने बताए ।

काँग्रेसले प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठकमा आमनिर्वाचन समीक्षा हुने बताईएको छ । बैठकमा पार्टी महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ ।

विशेषगरी कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरुले राजीनामा दिन जोड गरिरहेका छन् भने  विशेष महाधिवेशन पक्षीय नेताहरूले भने राजीनामा दिएर समस्याको समाधान नहुने बताइरहेका छन्।

पुष २७ देखि ३० गतेसम्म भृकुटी मण्डपमा भएको काँग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

त्यसको वैधानिकतालाई लिएर नि वर्तमान सभापति शेरबहादुर देउवा र  देउवाद्वारा कार्यवाहक तोकिएका पूर्ण बहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अहिले पनि विचाराधिन अवस्थामा छ।