काठमाडौ— निर्वाचन पर्यवेक्षक संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनको मुखमा निर्वाचनसँग सम्बन्धित विषयहरु जस्तै निर्वाचन आचारसंहिता उल्लघंन, सञ्चारकर्मीको भूमिका, निर्वाचनको वातावरण जनगुनासो, मतदाता नामावली मतदानको व्यवस्था मतदाता शिक्षा, निर्वाचन सुरक्षा चुनौती, चुनावी खर्च र प्रचार प्रसार लगायतका विषयमा विज्ञप्ती जारी गरेको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गैर सरकारी संस्था महासंघ नेपाल, आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओक) को संयुक्त हस्ताक्षरमा विज्ञप्ती निकालिएको जनाइएको छ ।
गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईल निर्वाचन स्वतन्त्र, निष्पक्ष र भ्रमरहित निर्वाचन होस भन्ने आफूहरुले चाहेको बताए । अध्यक्ष भट्टराईले चार वटै संस्थाका चार हजारभन्दा बढी निर्वाचन पर्यवेक्षकहरु खटिएको जानकारी दिदै भने,‘हाम्रो निर्वाचन पर्यवेक्षकहरुले निकालेको निष्कर्षहरु निर्वाचन अघि र निर्वाचनपछि पनि निष्कर्षहरु सार्वजनिक गर्ने छौं ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासहितको संयन्त्रले संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । निर्वाचन कर्मचारी खटाइसकिएको, आवश्यक सामग्री तथा मतपत्र सबै जिल्लामा पुगेको र प्रचारप्रसार उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी दिइएको छ । अध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू समेत परिचालन भइसकेका जानकारी गराए ।
समग्र वातावरण सकारात्मक देखिए पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा वृद्धि भएको पर्यवेक्षक संस्थाहरूको निष्कर्ष रहेको प्रष्ट पारेका थिए । ‘अघिल्ला निर्वाचनमा भौतिक उल्लंघन बढी देखिए पनि यसपटक डिजिटल माध्यमबाट हुने उल्लंघन उल्लेख्य रहेको जनाइएको छ । सामाजिक सञ्जालमा घृणा तथा द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोस्ट, गालीगलौज र मिथ्या तथा भ्रामक सूचनाको फैलावटले चुनौती थपिएको उनको भनाई थियो । पत्रकार सम्मेलनको क्रममा देशैभरी निर्वाचनका गतिविधिलाई सुश्म तवरबाट पर्यवेक्षण गर्न आवश्यक तयारी पूरा भएको जनाउदै निर्वाचनलाई निष्पक्ष भयरहित बनाउन सबै पक्षको उत्तिकै भूमिका हुने कुरा बताइएको थियो । कार्यक्रममा पत्रकारहरुले चुनावी खर्च पर्यवक्षकमा रहने व्यक्ती दलमा आवद्ध भएको भए सुचना चुहावट हुने जिज्ञासा राखेका थिए । सकभर त्यस्तो नहुने धेरै संस्थाले पर्यवेक्षकको लागि निवेदन दिएका भए तापनि केही सिमित संस्थालाई मात्रै अनुमति दिएको हुनाले त्यसतर्फ पर्यवेक्षक समिति सजग रहेको आयोजक टिमले बताएको थियो ।


0 comment