काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन् । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप लगाउदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताए । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राखे ।
उनले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र अलोकतान्त्रिक बाटो हिड्न खोज्नेहरुको सरकार बनाउनका लागि निर्वाचन गराउन खोजिएको आशंका व्यक्त गरे ।
जे–जस्तो अवस्थामा भएपनि निर्वाचन हुन लागेकाले स्वतन्त्र, निष्पक्ष र धाँधली रहित, शान्तिपूर्ण वातावरण निर्वाचन सम्पन्न हुनुपर्ने उनको भनाइ छ । उनले राज्य संयन्त्रले निष्पक्ष र तटस्थ रहेर शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।


0 comment