काठमाडौं - काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ।

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहन काजी चोक तथा दाखचोकमा आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताका सहितको तीन खण्डे चीर ठड्याइएको हो।

३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।

चीर ठड्याइएसँगै राजधानी काठमाडौं लगायत मुलुक भर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।

पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्त्व रहि आएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए।

तर आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भस्म भएकी थिइन्।

आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वास अनुरूप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।