काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिले मुलुकलाई चेतनाको राजनीति गर्ने शक्ति चाहिएको बताएका छन् । शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले मुलुकलाई सम्हाल्ने शक्ति कांग्रेससँग मात्रै रहेको दाबी गरे । सभापति थापाले भने, ‘उत्तेजना जसले पनि फैलाउनसक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई ।’
‘नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ’, सभापति थापाले भने,‘नयाँ कांग्रेसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा संकल्प बोकेर आएका छन् । ’
नागरिकमा व्याप्त गहिरो असन्तुष्टिको जवाफ सुधारबाटै दिनसकिने थापाको भनाइ थियो । अहिले समाजमा भित्रभित्रै आगो बलिरहेको बताउँदै उनले यो बेला कांग्रेसले नै सम्हाल्नुपर्ने बताए ।
अहिले निराशाको मुख्य जड नै भ्रष्टाचार भएको बताउँदै सभापति थापाले यसैका कारण राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास पैसा भएको बताए ।


0 comment