काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले देशमा सेवा भावको भूमिकाका लागि सेनाले विद्यार्थीहरुलाई दिएको राष्ट्रिय सेवा दलको तालिम महत्त्वपूर्ण रहेको बताएकी छन् ।
मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित सेनाको मध्य तालिम शिक्षालयमा दीक्षित भएका विद्यार्थीहरुको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएकी हुन् ।
देशको सुरक्षाका लागि अनुशासनको महत्त्वपूर्ण भूमिका हुने चर्चा गर्दै सेनाद्वारा विद्यार्थीहरुका लागि सञ्चालित राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता र अखण्डतामा ठूलो भूमिका खेलेको बताइन् । राष्ट्रिय सुरक्षामा राष्ट्रिय सेवा दलबाट दिक्षित विद्यार्थीको भूमिका अहम रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
देशभरीका १८ विद्यालयका ५ सय ३० विद्यार्थीहरुले एक सय दिनको तालिम सकेर मंगलबार दिक्षान्त समारोहमा भाग लिएका थिए । नेपाली सेनाले विद्यार्थीहरुलाई राष्ट्र प्रेम, विपतमा जुट्ने तालिम र शारिरिक सुगठन सम्बन्धी तालिम दिँदै आएको छ ।
हात्तिखोरस्थित सैनिक ब्यारेकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विद्यार्थीहरुको कवज, परेड र खेलकुद अवलोकन गर्नुका साथै तालिम अवधिमा उत्कृष्ट भएका विद्यार्थी र सेनालाई शिल्ड , दर्ज्यानी चिन्ह र प्रमाणपत्र वितरण गरिन्।


0 comment