काठमाडौं - विप्लव नेतृत्वको नेकपा(माओवादी)ले संविधानको पूनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपतिलगाएतका एजेण्डासहितको २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी)ले चुनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा(माओवादी) को प्रतिबद्धता पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा आमूल परिवर्तन गरिने, संघीयता उत्पीडित जाति र क्षेत्रलाई पहिचान र अग्राधिकार सहितको समाजवादी संघीयताको नीति लिइने जनाएको छ ।

त्यस्तै राज्य र निजी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने नीति लिइने, उधोग र व्यापार अर्थन्त्रलाई नेपालका संमृद्धिका आधार बनाइने, शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतमा नागरिकको पहुँच बढाइने सो पार्टीको नीति छ ।

पत्रकार सम्मेलनमा नेकपा(माओवादी)मा महासचिव नेत्रविक्रम चन्द विप्लवले लगातार संघर्ष र क्रान्तिपछि जनताले चाहेजस्तो राज्य निर्माण हुन नसकेको बताए । अग्राधिकारसहितको समाजवादी संघीय ढाँचाको राज्य हुनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए।

विप्लवले राज्यले रोजगारीको क्षेत्रमा शून्य प्रयत्न गरेकाले युवाहरुमा निराशा देखिएको र युवाहरुलाई बैदेशिक रोजगारीमा ढकेल्ने नीति राज्यको देखिएको आरोप लगाए ।

उनले कम्युनिस्टहरुसँग अहिले एकता गर्न नसकिने भन्दै मोर्चा बनाएर चुनावमा होमिने प्रस्ताव एमाले, नेकपा लगाएतसंग गरेपनि उनीहरुले अस्वीकार गरेको बताए । नेकपा(माओवादी) को चुनावी प्रतिबद्धता पत्रमा नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्यमा पुनर्संरचना गर्नुपर्ने, मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक  रूपले  अधिकार सम्पन्न गराउने लगाएत समेत उल्लेख गरिएको छ ।