काठमाडौं - चितवन रत्ननगरकी ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या गहना र नगद लुट्ने उद्देश्यले भएको  प्रहरीले जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ ।

हत्यामा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरी कर्तव्य ज्यान र डाँका अभियोगमा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाहरूबाट सुकमायाले प्रयोग गर्ने मोबाइल र पर्स बरामद गरिएको छ।

गत पुस २६ गते उनी रत्ननगर-४ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थायी घर भइ रत्ननगर-१० बस्ने ४६ वर्षका शुक्रबहादुर भोलोन, जितपुर सिमरा-२२ नै घर भएर ललितपुर महानगरपालिका-१० च्यासल बस्ने ४२ वर्षका सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका-५ का ३२ वर्षका बुद्धिमान लामा, स्याङ्जा बिरुवा-८ पेल्का घर भइ रत्ननगर-४ बस्ने ३१ वर्षका मिलन भन्ने कौबहादुर गुरूङ र मकवानपुर थाहा नगरपालिका-१२ घर भइ काठमाडौं थानकोट बस्ने ४७ वर्षका हीराबहादुर स्याङ्ताङ रहेका छन् ।