काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेद्वारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले  कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताए ।

उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कोही  भदौ २३ र कोही  भदौ २४ का रहेको भन्दै विभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको स्पष्ट पारे ।

उपसभापति शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको समेत बताए ।उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए ।  

महिला उम्मेद्वारको संख्यापनि केही धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ । उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सबैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दाबी गरे ।

उनले पार्टीले बनाएको आचारसंहीतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए। शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणापत्र छिटै सार्वजनिक गरिने जानकारी दिए।