काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने कुनै आदेश नदिएको पुनः स्पष्ट पारेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै ओलीले भदौ २३ गतेको घटनाबारे प्रधानमन्त्रीकै आदेशमा गोली चलाइएको भन्ने प्रचार पूर्णतः निराधार भएको दाबी गरे। संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको र आफूले त्यस्तो आदेश कहिल्यै नदिएको उनको भनाइ छ।

ओलीका अनुसार माइतीघरमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा न गोली चलेको थियो, न लाठीचार्ज भएको थियो। तर घुसपैठकारी समूहले बालबालिकालाई अगाडि राखेर निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ धकेलेपछि अवस्था नियन्त्रणबाहिर गएको उनले बताए। संसद् भवनमा आगजनी र विस्फोटक प्रयोग भएपछि कानुनअनुसार सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको ओलीको दाबी छ।

घटनापछि आफूले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरेको उल्लेख गर्दै ओलीले ज्यान गुमाएका १९ जना बालबालिकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरे। साथै, गलत प्रचारमा नलाग्न आग्रह गर्दै उनले शान्तिपूर्ण आन्दोलनलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले र किन लग्यो भन्ने प्रश्नको जवाफ खोज्न सबैलाई आग्रह गरेका छन्।