काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले  विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आग्रह गरेका छन् । बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए ।

कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको जनाउँदै प्रचण्डले विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको टिप्पणी गरे । आफूहरू पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै उनले विप्लवलाई यताउता भौंतारिएर केही नहुने बताए ।

आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको प्रचण्डको भनाइ थियो । समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आए पनि अहिलेसम्म सफल हुन नसकेको बताए ।