काठमाडौं - राजनितिक दलहरुले भावी प्रधानन्त्रीहरुलाई एउटै मन्चमा राखेर डिबेट गर्नुपर्ने चर्चा निकै चलेको छ । यो चर्चा चलिरहँदा बालेनले भने त्यसलाई अस्वीकार गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफू पब्लिक डिबेटका लागि तयार भएको बताएका थिए । उनले यसो भनिरहँदा प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले  आज बिहान सामाजिक संजालमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन्।

ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिन्छ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’

यसपटकको निर्वाचनमा केही दलहरुले प्रधानमन्त्रीको उम्मेदवारको नाम अघि सारेर मैदानमा होमिएका छन् । पछिल्लो समय सामाजिक संजालमा पनि प्रभानमन्त्रीका उम्मेदवारहरु बीच भावी योजना र नितिका बिषयमा जनता माझ सार्वजनिक रुपमा राख्न  हुन जरुरी रहको बहस चलेको छ ।