काठमाडौं - नेकपा एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको छ ।

नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सहि दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको हो ।

वर्तमान शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानून शासन, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेले तय गरेको लक्ष्यलाई हासिल गर्न आफ्ना उम्मेदवारलाई मतदान गर्न एमालेले आग्रह गरेको छ ।

निर्वाचनमा यसपटक ५४ दशमलव ५४ प्रतिशत नयाँ अनुहारलाई मौका दिइएको एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष राम बहादुर थापा बादलले एमालेले अघि सारेका मुद्दा र यसअघि गरेका कामका आधारमा आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए ।

राष्ट्रिय स्वाधिनतालाई पुनस्थापनाका साथै स्थायित्वका लागि पनि निर्वाचनमा सहभागी हुन जरुरी रहेको उनले बताए । उनले मुलुकलाई निकास दिनका लागि आगामी दिनमा बामपन्थी शक्तिहरुबीच सहकार्य हुन सक्ने उल्लेख गरे ।

उनले एमालेको नेतृत्वमा देशभक्त र लोकतान्त्रिक शक्तिहरुको सरकार गठन गर्ने संकल्प गरेको र निर्वाचनमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको बताए।