काठमाडौं - नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र विभाजनको अवस्थाबीच कांग्रेस नेता चन्द्र भण्डारीले आफ्नै पार्टी कमजोर बनाएर जनताको विश्वास जित्न नसकिने बताएका छन्।

फेसबुकमार्फत शुभेच्छुक, शुभचिन्तक तथा पार्टीका साथीहरूलाई सम्बोधन गर्दै भण्डारीले पार्टीभित्र बढ्दो विकृति, गालीगलौजलाई राजनीति ठान्ने प्रवृत्ति र जिम्मेवारीबोधको अभावप्रति प्रश्न उठाएका छन्। सत्य, अनुशासन र नैतिकताविनाको राजनीतिले न पार्टी बलियो बन्ने न लोकतन्त्र सुरक्षित रहने उनको भनाइ छ।‘आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ ?’ भन्दै भण्डारीले विनाश होइन, निर्माणको राजनीति रोज्न र विवेकमा फर्किन सबैलाई आह्वान गरेका छन्।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्व चयन र संस्थापन पक्षको कारबाहीलाई लिएर विवाद चर्किएको सन्दर्भमा भण्डारीले दुवै पक्षबीच सहमति र सहयात्राको प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका छन्। पार्टीलाई एउटै दिशामा अघि बढाउने चाहना रहे पनि परिस्थिति अनुकूल नबनेको उनको संकेत छ। ‘एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो। यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो,’ उनले लेखेका छन्।

विशेष महाधिवेशनको पहिलो चरणमा भृकुटीमण्डप पुगेर गगन थापा र विश्वप्रकाश शर्मालाई साथ दिएका भण्डारी निर्णायक चरणमा सहभागी नभएपछि उनीमाथि आलोचना हुँदै आएको थियो। उक्त आलोचनाप्रति संकेत गर्दै उनले आफू दुवै पक्षलाई समेटेर अघि बढ्न चाहेको भए पनि परिस्थितिले त्यो सम्भव हुन नसकेको स्पष्ट पारेका छन्।

यता, विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई नयाँ केन्द्रीय समिति गठन भइसकेको छ। भण्डारीको अभिव्यक्तिलाई कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि मात्र नभई आत्मसमीक्षाको सन्देशका रूपमा समेत हेरिएको छ।