काठमाडौं - नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कोही व्यक्ति वा समूहले पार्टीको महाधिवेशन डाक्न नपाउने बताएका छन् ।
निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका खड्काले लोकतन्त्र र संविधानमाथि ठूलो षड्यन्त्र देखिएको जिकिर गरेका छन् ।
उनले भने म आज नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति, शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस र पार्टीको विधान अनुसार कार्यवाहक सभापतिको रूपमा उपस्थित छु । १४ औँ महाधिवेशन मार्फत निर्वाचित साथीहरू आज निर्वाचन आयोगको अगाडि उपस्थित छौँ ।
उनले पार्टीको कुनै महाधिवेशन नभएको बताए । सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।


0 comment