काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत थापाले सभापतिमा मनोनयन दर्ता गराएका हुन्। 

निर्वाचन समिति स्रोतका अनुसार सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेको छ।  विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । वार्ता सफल नभएपछि दुई महामन्त्री थापा र शर्मा कानुन विद्हरूसँगको परामर्शमा छन् ।

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ । यसैगरी पार्टीका अन्य सबै पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता प्रक्रिया पूरा भइसकेको छ।

यता, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न सक्रिय रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गर्ने तयारी गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले दुवै महामन्त्रीलाई कारबाही गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन्।

पार्टीभित्र तीव्र विवादका बीच विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्दा कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ।