काठमाडौं - नेपाली कांग्रेसले एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू गर्न पार्टीको विधान संशोधन गर्दै संविधान संशोधनसम्म पहल गर्ने निर्णय गरेको छ।

कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमा दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको हो।

महामन्त्री थापाले पेस गरेको समसामयिक–राजनीतिक प्रतिवेदनमा नेपाली जनताको भावना, पार्टी पंक्ति र विशेषगरी युवा पुस्ताको अपेक्षाअनुसार देशको प्रमुख कार्यकारी पदमा दुई कार्यकालको सीमा आवश्यक भएको उल्लेख छ।उक्त व्यवस्था संविधानमै सुनिश्चित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत प्रतिवेदनमा जनाइएको छ।

त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागू गरिने उल्लेख छ। विगत डेढ दशकदेखि चुनाव भए पनि प्रधानमन्त्री दोहोरिने अभ्यासले नागरिकमा असन्तुष्टि बढाएको र नेतृत्वलाई अलोकप्रिय बनाएको उनको निष्कर्ष छ।

शर्माको प्रतिवेदनमा भनिएको छ, ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासले सार्थक परिणाम दिन सकेन। विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नेछैन।’

उनले दुई कार्यकालको सीमालाई संविधानमै लिपिबद्ध गर्न कांग्रेस अग्रसर हुने उल्लेख गरेका छन्।

कांग्रेस नेतृत्वको यो प्रस्ताव नेपाली राजनीतिमा नेतृत्व परिवर्तन, संस्थागत अभ्यास र नागरिकको भरोसा पुनःस्थापित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।