काठमाडौं - नेपाली कांग्रेसको आईतबारबाट सुरु हुने दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।  

पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च  निर्माण गरिएको छ ।  

त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको छ ।  मञ्च वरिपरि कांग्रेसको झण्डा,गेट,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । 

तर सभापति शेरबहादुर देउवाको सचिवालयले आइतबारदेखि हुँदै गरेको दोस्रो विशेष महाधिवेशनको निम्तो पत्र बुझ्न अस्वीकार गरेको छ ।

विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साह निम्तो पत्र बुझाउन शनिबार दिउँसो पार्टी सभापति देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

सभापति देउवालाई विशेष महाधिवेशन उद्घाटनका लागि निम्तो पत्र दिन जाँदा देउवाका स्वकीय सचिव भानु देउवाले पत्र पढे पनि सभापतिलाई भेट्न नदिई विशेष महाधिवेशन पक्षधर नेता साहलाई फिर्ता पठाएका हुन् ।  

साहले आफू सचिवालयबाट अपमानित भएर फर्कनु परेको गुनासो गरे ।