काठमाडौं - नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले प्रस्तावित विशेष महाधिवेशनको विपक्षमा संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। विशेष महाधिवेशनको तयारी अघि बढेपछि संस्थापन पक्ष निकट भ्रातृ संगठनहरूले यस्तो अपिल गरेका हुन्।
संयुक्त वक्तव्यमा वर्तमान राजनीतिक तथा सामाजिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै देश र जनतालाई संकटमुक्त गर्न पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ। पार्टीभित्र आन्तरिक विवादभन्दा पनि राष्ट्रिय जिम्मेवारी र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ।
वक्तव्यमा नेपाली कांग्रेसको नियमित महाधिवेशनको मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म तोकिइसकेको र फागुन २१ गते आम निर्वाचन हुने सन्दर्भलाई स्मरण गराउँदै यस्तो अवस्थामा विशेष महाधिवेशनले पार्टीलाई थप अन्योलतर्फ लैजान सक्ने चिन्ता व्यक्त गरिएको छ।
भ्रातृ संगठनहरूले कांग्रेस सभापति, पदाधिकारी तथा केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदै आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गरेका छन्।
साथै, वक्तव्यमा यो संवेदनशील समयमा सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित, जिम्मेवार र सहअस्तित्व स्वीकार्दै संवाद र सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरिएको छ। पार्टीभित्रको एकता र अनुशासन नै कांग्रेसको बलियो आधार भएको उनीहरूको निष्कर्ष छ।



0 comment