काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् ।
विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय भएको समेत उल्लेख गरेका छन् ।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको जारी संयुक्त वक्तव्यमा भनिएको छ । उनीहरूले भनेका छन्, ‘विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन सक्ने अवस्थाको परिकल्पना बिधानले नै गरेको छ।
बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति ऐक्यबद्धता रहेको जनाउँदै महामन्त्रीद्वयले पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको स्पष्ट पारेका छन् ।
पार्टी विधानको धारा ३(१२) तथा धारा २७(१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी हुन उनीहरुले आह्वान गरेका छन् ।


0 comment