काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न रहेको आरोपमा तीन मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलीय गतिविधिमा संलग्न रहनु गैरदलीय सरकारको भावना विपरीत भएको बताउँदै राजीनामा दिन भनेको स्रोतले जनाएको छ।
चुनावी प्रयोजनका लागि गठन गरिएको गैरदलीय सरकारमा रहेर दलगत क्रियाकलापमा सक्रिय भएको भन्दै सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई प्रधानमन्त्री कार्कीले केही दिनअघि नै व्यक्तिगत रूपमा सरकारको मर्यादा कायम गर्न आग्रह गरेकी थिइन्। चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू सरकारी कामकाजभन्दा दलीय गतिविधिमा सक्रिय भएपछि सरकारको तटस्थतामाथि प्रश्न उठ्न थालेको थियो।
प्रधानमन्त्री कार्कीले गैरदलीय पृष्ठभूमिका व्यक्तिहरूलाई मात्र मन्त्रीमा सहभागी गराएको भए पनि अहिले केही मन्त्रीको उठबस दलहरुसँग देखिन थालेको छ। ‘उज्यालो नेपाल पार्टी’को संरक्षक बनेका कुलमान पार्टीलाई नै रास्वपामा विलय गराउने प्रयासमा सक्रिय छन्। त्यस्तै सञ्चारमन्त्री खरेल र खेलकुदमन्त्री गुप्ता पनि रास्वपासँग नजिकिएर दलीय गतिविधिमा संलग्न भएको आरोप छ।


0 comment