काठमाडौं - संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाउँदै आएको नेकपा एमालेले आसन्न निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले निर्वाचनमा जाने निर्णय गर्दै घोषणापत्र मस्यौदा लेखन समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। समितिको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल र प्रदीप ज्ञवाली तथा सदस्यसचिव विष्णु रिमाल रहेका छन्।
त्यसैगरी, उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन्।
एमालेले निर्वाचन अभियानलाई प्रभावकारी बनाउन प्रदेश इन्चार्जहरू पनि तोकेको छ। जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा सचिव महेश बस्नेत, राजधानी विशेष क्षेत्रमा सचिव राजन भट्टराई, गण्डकी प्रदेशमा सचिव खगराज अधिकारी, लुम्बिनी प्रदेशमा सचिव पद्मा अर्याल, सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्ना र कर्णाली प्रदेशमा सचिव यामलाल कँडेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ।
बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिने निर्णय पनि गरेको छ।


0 comment