काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।

सोमबार बालुवाटारमा पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् । 

उनले निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने उल्लेख गरिन् । निर्वाचनले मुलुकलाई निकास दिने र नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले लय समाउने उनको विश्वास छ।

भेटका क्रममा मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मुलुकका सामु निर्वाचन नै निकासको एक मात्र लोकतान्त्रिक विकल्प रहेकाले यसमा सरकार सफल हुनुपर्ने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पूर्वसांसद मञ्चका लागि आवश्यक कार्यालय र स्रोत व्यवस्थाका लागि पनि प्रतिनिधिमण्डलले सरकारलाई आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष  श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा पूर्वसांसदहरु रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईँ, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट, विष्णुबहादुर राउत लगायत सहभागी थिए ।